मन्त्रीको गाडी बालकुमारी नआएको भए त्यो हदसम्मको घटना हुने थिएन : प्रहरी महानिरीक्षक

काठमाडौं । बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताएका छन् । बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने उनको भनाइ छ ।

सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए ।

प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए । मन्त्रीलाई गाडीबाट बाहिर निकालेपछि गाडी जलाउन लागेको भन्ने कुरा आएको र त्यतिबेला घटना भएको उनले बताए ।

बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने एकिन नभएको उनले बताए । उक्त प्रदर्शनमा २ जनाको ज्यान गएको थियो । मृतक दुई युवामध्ये १२:४० मा सुजन राउत घाइते भएको र १२:४२ मा वीरेन्द्र शाहलाई पाटन अस्पताल पुर्‍याएको उनले जानकारी दिए ।

ईपीएस कार्यालयमा घटना हुनसक्छ भनेर २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको उनले बताए । महानिरीक्षक कुँवरले प्रहरीसँग साधनस्रोतको कमी रहेको र त्यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

पुस १३ गते शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २ जना युवाको मृत्यु भएको थियो ।

प्रतिक्रिया